नीति अभावमा स्थानीय तहले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा बजेट विनियोजन गर्न नसकेको गुनासो

  • प्रकाशित मितिः बैशाख १८, २०८१
  • 76 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १८–नीति अभावमा जिल्लाका अधिकांश स्थानीय तहले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा बजेट विनियोजन गर्न नसकेको दिक्तेलमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । पुरुष जनप्रतिनिधिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई नबुझेका कारण यससम्वन्धी नीति तथा बजेट विनियोजनमा बेवास्ता गरेको गुनासो गरेका हुन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति बनाउन प्रस्ताव राख्दा जनप्रतिनिधिले नै अनिच्छा देखाउने गरेको उनीहरूको गुनासो छ । पुरुष जनप्रतिनिधि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको बजेटलाई तत्काल परिणाम दिने खालका भौतिक पूर्वाधारमा मात्र खर्च गर्ने गरेको बताएका छन् ।
दलित महिला केन्द्र नेपालद्धारा सञ्चलित शी लिड्स (महिला नेतृत्व) कार्यक्रम अन्तरगत बैशाख १७ गते दिक्तेलस्थित होटल शुभदिनमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले त्यस्तो धारणा राखेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले भने नगरमा आगामी वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार पार्ने प्रतिवद्धता जनाएका छन् । अन्तरक्रिया कार्यक्रममा प्रत्येक पालिकाबाट प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विधायन समितिका संयोजक तथा सदस्य, महिला शाखा, सामाजिक विकास शाखा गरी छ÷छ जनालाई सहभागी गराइएको थियो ।
१० स्थानीय तहमध्ये दुई स्थानीय तहले मात्रै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार पारेको पाइएको सहभागीहरूले बताएका छन् । यसमध्ये हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाले नीति तयार पारेको पाइएको उनीहरूले बताएका हुन् । हलेसी तुवाचुङ नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७९, २०८० मङ्सिर १० गते वेवसाइटमै प्रकाशित गरिसकेको छ । खोटेहाङ गाउँपालिकाले भने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार पारे पनि वेवसाइटमा प्रकाशन गरेको देखिदैन । अन्य ८ स्थानीय तहले भने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तयार गर्न सकेका छैनन् ।
निर्वाचित महिला वडा सदस्य तथा दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धि गर्दै प्रभावकारी भूिमका निर्वाह गर्न÷गराउन सक्षम बनाउने लक्ष्यले शी लिड्स परियोजनाले नेतृत्व विकाससंग सम्बन्धित विषयवस्तुमा सहजीकरण गर्दै आएको छ ।
स्वीस सरकार विकास नियोग र अस्टे«लियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा जिल्लाका आठ स्थानीय तहमा शी लिड्स कार्यक्रम सञ्चालन गरिरहेको हो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा ऐसेलुखर्क, खोटेहाङ, जन्तेढुङ्गा, दिप्रुङ चुइचुम्मा, साकेला र रावाबेसी गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको छ । अन्तरक्रिया कार्यक्रममा सहजकर्ता शरु जोशीले समावेशीकरण नीतिसम्वन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सबै स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उप्रमुख तथा उपाध्यक्ष सहभागी हुनु पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, रावाबेसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ र साकेला गाउँपालिकाकी उपप्रमुख बिर्सिका राई मात्र सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित