दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा प्लाष्टिक तथा शिशाजन्य फोहरमुक्त बनाउने अभियान सुरु (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन 18, 2083
  • 60 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले प्लाष्टिक तथा शिशाजन्य फोहरमुक्त बनाउने अभियान सुरु गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले साउन १८ गते भर्चुअल माध्यमबाट उद्घान गरेकी हुन् ।
मन्त्री चौधरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले प्लाष्टिक तथा शिशाजन्य फोहरमुक्त बनाउदै वातावरण संरक्षण र जलवायु विकासको अभियान प्रारम्भ गरेको उल्लेख गर्दै नगर क्षेत्रभित्र प्लाष्टिक तथा शिशाजन्य फोहरमुक्त सार्वजनिक स्थल, जलवायु मैत्री र सभ्य नगर निर्माण अभियान सुरु गरेकोमा धन्यवाद दिएकी छन् । चौधरीले प्रतिज्ञा समेत गराएकी छन् ।
यो अभियान पहिलो चरणमा १५ दिनसम्म चल्ने छ । त्यसपछि अर्को चरणमा प्रवेश गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । आगामी ३ महिनासम्म प्लाष्टिक तथा शिशाजन्य वस्तुको बेफाइदा बारे जनचेतनामुलक अभियान गरी त्यसपछि भने शिशाजन्य वस्तुमा पूर्ण रूपमा प्रतिबन्ध र प्लाष्टिकजन्य वस्तुको उचित व्यवस्थापन गरिने भट्टराई सुनाएका छन् ।
उक्त अभियान अन्तरगत नगरका १५ वटै वडाका विद्यालय, कार्यालय, स्वास्थ्य सस्था, धार्मिकस्थल, बजार, पर्यटकीय क्षेत्र तथा अन्य सार्वजनिक स्थलहरूमा सरसफाइ, प्लाष्टिक तथा शिशाजन्य फोहर सङ्कलन गरिने भट्टराईले सुनाएका छन् ।
अभियानको उद्घाटनमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र, कोशी प्रदेश पर्यटन वन तथा वातावरण सचिव डा. इन्द्र सापकोटा, राष्ट्रिय गान रचनाकार व्याकुल माइला, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता थियो । प्रतिनिधिसभा सदस्य आरेन राई, कोशी प्रदेश पर्यटन वातावरण मन्त्री भीम पराजुली भने प्राविधिक कारणबस उपस्थित हुन नसकेको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित